झापा । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (आइतवार) प्रदर्शन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज दिउँसो २ बजे काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शन गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो । कांग्रेसले प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रमा १५ जना केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको जनाइएको छ । आजको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा समेत आवाज उठाउने साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने जनाएको छ ।