झापा । 

झापाबाट ४३ वटा पशुचौपायसहित बिभिन्न सामाग्री प्रहरीले नियन्त्रण गरेको छ । झापाको मेचीनगर–१० बाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छले लुकाई छिपाई नेपालतर्फ ल्याउदैं गरेको दुईलाख आठ हजार मूल्य बराबरको पुजाको कपडा र जेन्स पेन्टी नियन्त्रणमा लिएको हो । 

 त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर –४ बाहुनडाँगी स्थित हँुदैं नेपालबाट भारततर्फ अबैध रुपमा लुकाई छिपाई लादै गरेको ८६ हजार मूल्य बरावरको ४३ वटा बाख्रा नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाटै खटिएको प्रहरी टोलीले मेचिनगर –६ हँुदैं भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको ११ हजार ४०० रुपैयाँ बराबरको कुर्ता सुरुवाल, रजनिगन्धा र नेपालबाट भारततर्फ अवैध रुपमा लादैं गरेको सुपारी ९६ हजार बराबरको समेत गरी जम्मा १ लाख ७ हजार ४०० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नियन्त्रण गरिएको पशुचौपायसहित सम्पूर्ण सामाग्री आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।