• प्रचण्डको सम्पत्ति २५ लाख नगद

काठमाडौं । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले सोमवार (आज) सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गा जमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ । त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्जात रहेको छ । 

  • रवि लामिछानेको सम्पत्ति सुनमात्रै ८० तोला

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  गृहमन्त्री लामिछानेले आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पती विवरण सार्वजनिक गरेका हुन् । 

हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति  छ । श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ । 

त्यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् । ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

  • नारायणकाजीको सम्पत्ति १ लाख २२ हजार नगद र प्रचण्डले दिएको एउटा गाडी

 उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सम्पती विवरण सार्वजनिक गरेका छन् ।  सार्वजनिक उनको सम्पत्ति विवरणमा आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् ।

उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।

एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आनालाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।