झापा ।
झापाको पूर्वी नाँका काँकरभिट्टाबाट छुट्टाछुट्टै समयमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । झापाको दमक र मोरङको उर्लाबारी नगरपालिकाका तीन जना पक्राउ परेका हुन् ।
मेचीनगर–६ पुरानो मेचीपुल हुँदैं भारतको पानीट्याङ्कीबाट सिटिसफारीमा नेपाल तर्फ आउदैं गरेका मोरङ उर्लाबारी–५ का २६ बर्षिय समिर मगर र उर्लाबारी–२ का २७ बर्षिय सुजन कार्कीलाई मंगलबार (आज) प्रहरीले नियन्त्रण गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँचका क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर १२ ग्राम १२० मिलिग्राम फेला परेको थियो ।
त्यसैगरी मेचीनगर–६ पुरानो मेचीपुल हुदैं भारतको पानीट्याङ्की स्थितबाट सिटिसफारीमा आउँदैं गरेका दमक–९ का २७ बर्षिय आशिष खडरियालाई प्रहरीले सोमवार साँझ लागूऔषधसहित पक्राउ गरेको छ ।
खडरियालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम १०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई झापा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थपको लागि कानुनी प्रक्रियाशुरु गर्नुका साथै सो दुवै घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।