झापा ।
नेपाल तरुण दलका झापा पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । खड्काको राप्रपा प्रवेशसँगै नेपाली कांग्रेस झापामा तरङ्ग पैदा हुने देखिएको छ ।
राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सोमवार (आज) केन्द्रिय पार्टी कार्यालय धुम्वाराही काठमाडौंमा खड्कालाई बिधिवत रुपमा पार्टी सदस्यता प्रदान गर्दै प्रवेश गराएका हुन् । राप्रपा अध्यक्ष लिङ्देनले खड्कालाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।
खड्का राप्रपाको केन्द्रिय पार्टी कार्यालयमै गएर पार्टी प्रवेश गरेको जनाइएको छ । उनको राप्रपा प्रवेशसँगै झापासहित देशभरका उद्योगी ब्यवसायीसहित नेपाली कांग्रेसमा हलचल मच्चिएको बुझिएको छ । उनको पार्टी प्रवेशसँगै देशभरका धेरै उद्योगी ब्यवसायीहरुले राप्रपा प्रवेश गर्ने राप्रपाको ठहर छ ।
मेचीनगर निवासी नरेन्द्र खड्काको राप्रपा प्रवेशले राप्रपा झापा उत्साहित भएको राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए । उनका अनुसार खड्काको पार्टी प्रवेशले अन्य धेरै उद्योगी ब्यवसायी राप्रपामा आउने छन् ।