बिर्तामोड ।
झापाको बिर्तामोड–९ मा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूका लागि १५ दिने सीपमूलक तालिम शुरु भएको छ । बिर्तामोड ९ स्थित दुर्गा माध्यमिक विद्यालयमा मंगलबार (आज) देखि तालिम शुरु भएको छ ।
अपाङ्गता क्षेत्रको समन्वय गर्ने निकाय लेखाजोखा तथा परामर्श केन्द्र झापाको आयोजनामा उक्त तालिमको भएको हो । तालिमको उद्घाटन बिर्तामोड नगर शिक्षा शाखाका अधिकृत केशरबहादुर खवासले गरेका हुन् । तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्रका बौद्धिक अपाङ्ग बहिरा सुस्त श्रवण तथा शारीरिक अपाङ्गता भएका २० जना प्रशिक्षार्थीहरू सहभागी भएका छन्।
तालिमलाई स्थानीय सन्तोष रोकाले सहजीकरण गर्दैछन्। तालिम अवधिभर चप्पल बनाउने सीप सिकाइनेछ। बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन भएको हो ।
दुर्गा माध्यमिक विद्यालयका प्रधान अध्यापक लक्ष्मण शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विराट आधारभूत विद्यालयका स्रोत शिक्षक रङ्गलाल न्यौपाने प्रशिक्षक सन्तोष रोका लगायतले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए।
दुर्गा माविका दृष्टिविहीन तर्फका स्रोत शिक्षक चन्द्रप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रममा विद्यालयका शिक्षकहरू धर्मेन्द्र भट्टराई, पदम अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम लेखाजोखा तथा परामर्श केन्द्र झापाका संयोजक भुवन पौडेलले सञ्चालन गरेका थिए ।