भद्रपुर ।  

झापामा जंगली हात्तीका कारण हालसम्म ज्यान गुमाउनेका परिवारलाई २ करोड ७३ लाख ५० हजार रुपैयाँ राहत वितरण गरिएको छ । झापामा हालसम्म ८ गैर नेपालीसहित ६९ जनाले जंगली हात्तीको आक्रमणबाट  ज्यान गुमाएका छन् ।  डिभिजन बन कार्यालय भद्रपुर झापाका अनुसार १२ बर्षको अवधिमा ८  बिदेशीसहित  ६९ जनाले जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् । 

जस अन्तरगत २ करोड ७३ लाख ५० हजार रुपैयाँ मृतकका परिवारलाई राहत वापत प्रदान गरिएको जनाइएको छ । १३ जनालाई एकलाख ५० का दरले, ८ जनालाई ३ लाखका दरले, १२ जनालाई ५ लाखका दरले र १७ जनालाई १० लाख रुपैयाँका दरले राहत बितरण गरिएको डिभिजन बनको तथ्याङमा छ । ६ जनाको राहत प्राप्त हुन बाँकी रहेको र एक जनाको कागजात प्राप्त हुन बाँकी रहेको तथ्याङमा उल्लेख छ । 

आर्थिक बर्ष २०६८/०६९ देखि चालु आर्थिक बर्ष २०८० चैत १७ गतेसम्म सात जना बिदेशीसहित ६९ जनाले ज्यान गुमाएको डिभिजन कार्यालय भद्रपुर झापाका बन अधिकृत जीवनप्रसाद पाठकले जानकारी दिए । 

जंगली हात्तीका कारण मृत्यु हुने परिवारलाई क्षतिपुर्तिबापन २०६८ सालमा एकलाख ५० हजार रुपैयाँ दिने गरिएपनि हाल १० लाख रुपैयाँ दिने गरिएको पाठकले बताए । उनका अनुसार २०६८ मा १ लाख ५० हजार, ०६९ फागुन २४ गतेदेखि ३ लाख, २०७२ बैशाख २३ गतेदेखि ५ लाख र २०७४ साउन २३ गतेदेखि १० लाख रुपैयाँ राहत दिने गरिएको छ । 

गैर नेपाली नागरिकलाई राहत दिने प्रावधान नरहेको बताउँदै डिभिजन बन कार्यालय झापाकी सूचना अधिकारी अन्जना पुरीले ६१ जना नेपाली नागरिकलाई राहत वापतको रकम दिइने र केही राहत वितरण गर्न बाँकी रहेको जानकारी दिइन् । अहिलेसम्ममा ५४ जनालाई मृत्यृ राहत बितरण गरिसकिएको र ७ जनालाई वितरण गर्न बाँकी रहेको उनले जानकारी दिइन् । उनले बाली तथा घाइतेलाई पनि राहत वितरण गरिदै आएको जानकारी दिएकी छिन् ।