लक्ष्मीपुर । 

समाचार लेखेको बिषयलाई लिएर पत्रकारलाई धम्की र गालीगलौज गर्नेलाई नेपाल पत्रकार महासंघ झापाले कारवाहीको माग गरेको छ । महासंघसहित झापामा पत्रकारजन्य बिभिन्न संघ/संगठनले आइतवार (आज) प्रेस बिज्ञप्ती जारी गर्दै  घोर निन्दा र भत्र्सना गरेका छन् । महासंघ झापासहित प्रेस सेन्टर नेपाल झापा, प्रेस चौतारी नेपाल झापा, नेपाल प्रेस युनियन झापा, समाजवादी प्रेस संगठन नेपाल झापा,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) लगायतले अलग–अलग बिज्ञप्ती जारी गरी समाचारका बिषयमा पत्रकारमाथि अभद्र व्यवहार गर्नेमाथि कानुनी कारवाहीको माग गरेका छन् । 

नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य तथा पत्रकार चिरञ्जीवी घिमिरेले नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणमा ’जनप्रतिनिधिको सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षकमा लेखेको समाचारको विषयमा राप्रपा निकट युवक संगठनका नेता तथा निर्माण व्यवसायी विनोद थापाले उनलाई धम्काएको जारी बिज्ञप्तीमा उल्लेख छ । 

थापाले फोन गरी अत्यन्त तुच्छ र अपशब्द प्रयोग गर्दै ’तं काहाँ छस् ?, तँ फुच्चे को होस् ?, तेरो इतिहास त दमक हैन र छ त ! तँलाई जे लाग्छ, त्यहि गर, मलाई पनि जे लाग्छ त्यहि गर्छु’ भन्ने जस्ता धम्की र गालीगलौज गरेको घटनाको महासंघसहित पत्रकारजन्य संघ/संगठनले घोर निन्दा र भत्र्सना गरेका छन् । 

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार ग्यारेन्टी गरेको र पत्रकारले लेखेको समाचारमाथि चित्त नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदा हुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिने जस्ता

कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासंघसहित ती संघ/संगठनको ठम्याई छ । बिज्ञप्तीमा भनिएको छ ‘पत्रकारमाथि अभद्र व्यवहार गर्ने थापामाथि कानुनी कारवाहीको माग गर्दै पत्रकारको उच्च सम्मान र सूचनाको हकलाई समेत सुनिश्चित गर्न जोडदार माग गर्दछौं ।’