काठमाडौं । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको पत्रकारिता ‘आरम्भदेखि (०४०) पुस्तकको विमोचन गरेका छन् । नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार (आज) काठमाडौंमा विमोचन गरेका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन उद्घाटन समारोहमा झापाको पत्रकारिता (आरम्भदेखि (४०) पुस्तकको विमोचन गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पुस्तकमा  झापाको पत्रकारिताको इतिहासको दस्तावेजीकरण, ०४० सम्मका अग्रज पत्रकारहरुको परिचय, महत्वपूर्ण अभिलेख, महासंघको हाल सम्मका कार्यसमितिको विवरण लगायतका विषय समेटिएको छ । कभरसहित २७६ पृष्ठको पुस्तकमा अग्रलेख, अन्तरबोध खण्ड, संस्मरण लेख खण्ड र अभिलेख खण्डमा इतिहासका विविध विषय समेटिएको छ ।

प्रधानमन्त्री प्रचण्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले शुभकामना व्यक्त गर्दै झापाको पत्रकारिता पुस्तक प्रकाशन गरेर महासंघ झापा शाखाको वर्तमान कार्यसमितिले रचनात्मक र उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

सात दशक पार गरेको झापाली पत्रकारिताको बारेमा बुझ्न, खोज अध्ययन अनुसन्धान गर्न चाहने जो सुकैका लागि पुस्तक उपयोगी हुने अध्यक्ष गिरीले बताए । पुस्तकको सम्पादक अग्रज पत्रकार गोपाल गिरी र राजबाबु शंकर रहेका छन् । अध्यक्ष  गिरीले पुस्ततकका सम्पादक, लेखक पत्रकार, प्रकाशनमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । पुस्तकको प्रकाशन सहयोगी बिर्तामोड नगरपालिका रहेको छ ।