बिर्तामोड । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा युवा नेता रन्जित तामाङले मजदुर विना विकास र समृद्धि सम्भव नभएको बताएका छन् । उनले मजदुरले आफ्नो मेहनतले बिद्यालय, ठूला–ठूला भवन, घर, अस्पताल, वाटो बनाउने गरेपनि त्यसको उपभोग पुँजिपति  गर्वले नै गर्ने गरेको बताए । 

हरेक क्षेत्रको विकास र समृद्धिमा मजदुरकै योगदान भएपनि मजदुरका हकअधिकार अझै सुरक्षित हुन नसकेको केन्द्रिय सदस्य तामाङको भनाई थियो । 

मजदुरले मेहनत गरेर ठूला बिद्यालय भवन बनाएपनि त्यहाँ उनीहरुका छोराछोरी पढ्न नपाउने,  अस्पताल निर्माण गरेपनि उनीहरुले त्यहाँ उपचार गर्न नसक्ने अवस्थाका कारण सरकारी अस्पतालनै धाउनु पर्ने समस्या रहेको नेता तामाङले बताए । 

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधवार बिर्तामोडमा अखिल नेपाल ट्रेड युनियन महासंघ झापाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता तामाङले हरेक निर्माण कार्यमा मजदुरको योगदान रहेको बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) मजदुरको पार्टी भएकाले मजदुरको हकअधिकार स्थापित गर्न जुनसुकै परिस्थितिको सामाना गर्नेमा दुईमत नरहेको नेता तामाङले बताएका छन् । ‘अहिले माओवादी केन्द्रको सरकार छ’ नेता तामाङले भने ‘प्रचण्ड सरकाले मजदुरका लागि स्वास्थ्य, शिक्षा, रोजगारीका बाटाहरु सिर्जना गर्नेछ ।’ मजदुर विना राज्यको प्रगति उन्नती नहुने भएकाले माओवादीको सरकारले मजदुरको हकअधिकार स्थापित गराउन कुनै कसर नछोड्ने नेता तामाङ्को भनाई छ ।