झापा । 

झापाको काँकरभिट्टा नाँकाबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–५ स्थित मेचीपुलबाट धादिङ जिल्लाको खन्याबास गाउँपालिका–५ का २० बर्षिय विनोद तामाङलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

लागूऔषध ब्यूरो झापा र सशस्त्र प्रहरी बल  नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाको डग सहितको संयुक्त रुपमा खटिएको टोलीले सोमवार साँझ तामाङलाई पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई शंका लागेर सशस्त्र प्रहरी बल नेपालद्धारा परिचालन गरिएको ल्याब्राडोर जोजो नामको लागूऔषध पत्ता लगाउने कुकुरद्धारा चेकजाँच गर्दा उनको साथबाट ४३.१५ ग्राम ब्राउन सुगर फेला परेको थियो । 

उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको र सो सम्बन्धमा थप अनुसन्धन कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।