झापा । 

झापामा दरबन्दी अनुसारका जनशक्ति सुरक्षाकर्मी नहुँदा समस्या बेहोरेको जिल्ला प्रहरी कार्यालय झापाले अस्थायी प्रहरी चौकीका कारण पनि थप मार खेप्न बाध्य छ । अस्थायी प्रहरी चौकीमा जनशक्तिको दरबन्दी नहुने र स्थायी जनशक्ति नै परिचालन गर्नुपर्ने भएकाले मार खेप्न बाध्य भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा स्रोतका अनुसार जिल्लामा कुल १ हजार २ सय ९९ जना सुरक्षाकर्मीको स्थायी दरबन्दी छ । तर, १ हजार २ सय १५ जनामात्र कार्यरत रहेको स्रोतको भनाई छ । यी स्थायी जनशक्तिलाई नै अस्थायी प्रहरी पोस्टमा खटाउनु पर्दा इलाका र प्रहरी कार्यालयमा जनशक्ति अभाव हुने गरेको छ । जसका कारण प्रहरी कार्यालयले मात्र होइन, सर्वसाधारणले समेत भनेकै समयमा प्रहरीको सेवा वा शान्ति सुरक्षा पाइरहेका छैनन् ।

जिल्लामा कचनकवल गाउँपालिका–१ मा कुटी अस्थायी प्रहरी चौकी, दमक नगरपालिका–१ मा फाल्गुनन्द अस्थायी प्रहरी पोस्ट, दमक नगरपालिका–४ मा ताराबारी अस्थायी प्रहरी पोस्ट, बिर्तामोड नगरपालिका–७ मा गरामनी अस्थायी प्रहरी चौकी, बिर्तामोड नगरपालिका–६ मा बुट्टावारी अस्थायी प्रहरी पोस्ट, विर्तामोड–१० मा सैनिक बजार अस्थायी प्रहरी बीट, अर्जुनधारा–११ मा बसपार्क अस्थायी प्रहरी पोस्ट, अर्जुनधारा–९ मा सालवारी अस्थायी प्रहरी पोस्ट रहेका छन् ।

यस्तै, कनकाई–७ मा दुर्गापुर अस्थायी प्रहरी वीट, मेचीनगर–२ मा भृकुटी अस्थायी प्रहरी पोस्ट, मेचीनगर–७ मा इटाभट्टा अस्थायी प्रहरी पोस्ट, गौरादह नगरपालिकामा बैगुनधुरा अस्थायी प्रहरी चौकी, अर्जुनधारा–२ मा खुदुनावारी अस्थायी प्रहरी पोस्ट, शिवसताक्षी नगरपालिकाको माइधार अस्थायी प्रहरी पोस्ट, गौरादह नगरपालिका–७ मा जुरोपानी अस्थायी प्रहरी चौकीसहित जिल्लामा अस्थायी चौकी र पोस्ट गरी कुल १५ वटा रहेका छन् ।

ती सबै पोस्ट र चौकीमा कार्यरत सुरक्षाकर्मीको व्यवस्थापन जिल्ला प्रहरी कार्यालय झापाले आफैँ गर्नुपर्छ । एउटा अस्थायी चौकी वा पोस्टमा ४ देखि ७ जनासम्म कार्यरत छन् । जिल्लाभरि रहेका अस्थायी चौकी वा पोस्टमा करिब एकसय जना सुरक्षाकर्मी कार्यरत रहेको कार्यालयको भनाई छ ।

सरकारले ती अस्थायी प्रहरी चौकी र पोस्टलाई स्थायी गर्ने बित्तिकै एकजना खाना बनाउने ९भान्से० सहित प्रहरी सहायक निरीक्षकको कमाण्डमा १४ जना सुरक्षाकर्मीको स्थायी दरबन्दी हुन्छ । ‘अब पोस्ट र चौकी निर्माण गरेपछि सुरक्षाकर्मी राख्नै पर्छ,’ एकजना प्रहरी अधिकृतले भने, ‘अस्थायीमा स्थायी जनशक्तिको दरबन्दी नभएपछि अन्य युनिटबाट स्थायी जनशक्ति पठाउनुपर्छ यसो गर्दा जुन यूनिटबाट जनशक्ति पठाइन्छ त्यहाँ जनशक्ति कम हुन्छ ।’ जसले गर्दा त्यस मातहतको क्षेत्रमा कहीँ कतै अपराधलगायत अन्य घटना भए पर्याप्तरुपमा प्रहरी पुग्न सक्दैन ।

अस्थायी प्रहरी चौकी र पोस्टमा समेत पर्याप्त जनशक्ति छैनन् । जसका कारण त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्थानीयवासीको अपेक्षा अनुसार शान्ति सुरक्षा प्रदान गर्न नसकेको हो । ‘अब सरकारले यी जिल्लाका १५ वटा प्रहरी वीट र चौकीलाई स्थायी संरचनामा परिणत गर्नु पर्यो, नत्र यो समस्या ज्यूँका त्यू रहन्छ,’ ती प्रहरी अधिकृतले भने ।

जिल्लामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, बिर्तामोड र दमकमा प्रहरी नायव उपरीक्षक (डिएसपी) को दरबन्दी छ । यसैगरी, १२ वटा इलाका प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक ९सई० को कमाण्ड र ३० वटा प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक ९असई० को नेतृत्व हुन्छ । जिल्लामा प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक (इन्सपेक्टर) को दरबन्दी रहेको धुलाबारी, झिलझिले र गौरीगञ्ज इलाका प्रहरी कार्यालयले मात्र मुद्धा चलाउन सक्ने एकजना प्रहरी अधिकृतले बताए । भद्रपुरको वडा प्रहरी कार्यालयमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को दरबन्दी भए पनि त्यहाँ मुद्धा दर्ता हुँदैन । त्यहाँको मुद्धा जिल्ला प्रहरी कार्यालय झापाले हेर्ने गरेको ती प्रहरी अधिकारीले बताए ।

जिल्लामा कार्यरत सुरक्षाकर्मीको संख्या र झापाको जनसंख्या हेर्दा करिब ८ सय १८ जना मानिसको शान्ति सुरक्षाको जिम्मा एकजना सुरक्षाकर्मीको काँधमा छ । २०७८ सालको जनगणना अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० पुगेको छ । जुन कुल जनसंख्याको ३ दशमलव ४१ प्रतिशत हो । जिल्लाको कुल जनसंख्यामा पुरुषको संख्या ४ लाख ७७ हजार ४ सय ९६ र महिलाको संख्या ५ लाख १६ हजार ५ सय ९४ रहेको छ । यसबाट ३९ हजार ९८ जना महिला बढी रहेको देखिन्छ ।

जिल्लाको जनसंख्या बृद्धिदर १ दशमलव ९३ प्रतिशत रहेको छ । त्यस्तै, औसत परिवार संख्या ४ दशमलव शुन्य ४ रहेको छ । ०६८ को जनगणनामा झापाको जनसंंख्या ८ लाख १२ हजार ६ सय ५० रहेको थियो । हाल जिल्लामा कार्यरत सुरक्षाकर्मीको संख्या १ हजार २ सय १५ मात्रै छ ।