बिर्तामोड । 

नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको पत्रकार उपचार कोष घोषणा गरेको छ । समाचार संकलनका क्रममा घाइते तथा बिरामी हुने पत्रकारलाई सहयोग गर्ने उदेश्यले देशमै पहिलो पटक झापामा करोड रुपैयाँ राशीको कोष स्थापना गरी सोमवार (आज) बिर्तामोडमा एक समारोहका बिच घोषणा गरिएको हो । 

पत्रकार सहारा उपचार कोषको घोषणा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गरेका छन् । सोही अवसरमा कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई पनि सम्मानसमेत गरिएको थियो । 

पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भीम नेम्वाङको कार्य कालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा शुरु भएको थियो । तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाखसहित जम्मा नौ लाख रुपैयाँवाट शुरु भएको कोष आठ वर्षमा करोड पुर्याएको नेपाल पत्रकार महासंघ झापका अध्यक्ष एकराज गिरीले जानकारी दिए । नेम्वाङपछिका अध्यक्ष तारामणि सापकोटाले पनि कोष निर्माणका लागि आर्थिक संकलन अभियान गरेका थिए ।

गिरी अध्यक्ष भएपछि कोषका लागि आक्रामक ढंगवाट अभियान शुरु गरी तीन वर्ष भित्रै ६० लाख वढी रकम संकलन गरिएको हो । कोषमा पत्रकारहरुले जनही तीन हजार रुपैयाँ जम्मा गरेका छन् । 

कोषमा धेरैजसो रकम दाताहरुवाट संकलन भएको अध्यक्ष गिरीले बताए । झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै सहयोग उपलव्ध गराउने अध्यक्ष गिरीले बताए । गिरीका अनुसार समाचार संकलनको क्रममा हुने दुर्घटना र रोग लागेर बिरामी हुने पत्रकारलाई उक्त कोषको ब्याजबाट सहयोग प्रदान गरिनेछ । 

आठ वर्षअघि पत्रकारहरुको सुरक्षाका लागि कोष निर्माणको अभियान थालिएको थियो । नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण गरेर कोष स्थापनाको अभियान शुरु गरिएको थियो । 

सोही कार्यक्रमकाबिच पत्रकार महासंघ झापा शाखाले भवन स्तरोउन्नती गरी  भवनको समेत उद्घाटन गरिएको थियो । महासंघ झापा अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव डिकेश लामाले गरेका थिए भने सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. यादव, महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, कोशी प्रदेश पूर्व मुख्यमन्त्री हिक्मत कार्की, उद्धव थापालगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत नृत्यसहित बिभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो ।