भोजपुर ।

भोजपुरको षडानन्द नगरपालिका–९ बाट पेस्तोलसहित लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका–२ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एक जना ब्यक्ति फरार भएका थिए ।

उक्त खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङको प्रहरी टोलीले आइतवार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका–१ का ३७ बर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ । 

परियार नेकपा बिप्लब समुहबाट नेकपा बहुमद समुह हुँदै हाल बैद्य समुहमा आबद्ध रहेको र २०७६ माघ २१ गते संगठीत अपराध, अपराधिक उपद्रव, लअभिि टावर आगजनी,  वअद आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।