बिर्तामोड ।

साहित्य चौतारी झापाले  नव वर्ष २०८१ सालको शुभकामना आदान–प्रदानसहित मासिक सांगीतिक काव्य सभा र पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान  गरेको छ ।  

साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत चैत्र महिनाको मासिक सांगितिक काब्यसभामा  पाँच जना अग्रज श्रष्टालाई  अभिनन्दन र सम्मान  गर्नुका साथै  नेपाली  साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक मदन दिपविमको स्मृतिमा श्रद्धासुमन अर्पणसहित उनका सृजना  प्रस्तुत गरिएको हो । 

साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा  प्रा.डा.गंगाप्रसाद अधिकारीकोे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  साहित्य चौतारी झापाका उपाध्यक्ष  तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेका थिए  ।

 कार्यक्रमको औचित्यमाथी साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रकाश पार्दै  संस्थाको स्थापना कालदेखि संस्थासँग जोडिएर उल्लेखनीय योगदान गर्ने अग्रज  श्रष्टाहरुलाई अभिनन्दन र सम्मान गर्न पाउँदा संस्था आफैं अभिनन्दीत भएको बताए । 

कार्यक्रममा साहित्य चौतारीका तत्कालिन सचिव स्व. डिकमान विरहीको शव्द र  साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको संगीत र स्वर रहेको स्वागत गीतको विमोचन गरिएको थियो ।  

कार्यक्रममा अग्रज श्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडालाई अभिनन्दन गरिएको थियो  भने वरिष्ठ साहित्यकार विरही अधिकारी, विन्दु दाहाल मुकदर्शक, साहित्य चौतारी झापाकी पूर्व उपाध्यक्ष तथा साहित्य चौतारी झापाले स्थापना गरेको गुरुकुल संगीत विद्यालयकी सञ्चालिका कमला नेम्वाङलाई सम्मान गरिएको थियो ।  

उनीहरुलाई साहित्य चौतारी झापाका पूर्व अध्यक्ष केशव आचार्य, सल्लाहकार हरिनारायण भट्टराई, भवानी क्षेत्री, सदस्य चित्रा कोइरालालगायतले बाचन गरेको अभिनन्दन पत्र र सम्मान पत्र, माला, खदा अर्पण गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए ।