बिर्तामोड । 

नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले जातीय विभेद भएको भन्दै उजुरी दिएका छन् । 

अग्रज पोर्तेलले हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी विरुद्ध उजुरी दिएका हुन् । गिरी विरुद्ध पोर्तेलले बुधवार (आज) इलाका प्रहरी कार्यालय अनारमनीमा जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार उजुरी दिएको बताएका छन् । 

गिरीले गत १८ चैतमा पोर्तेलको नम्बरमा फोन गरेर अपशब्द प्रयोग गर्दै ‘कामी, डांग्री’ भनेको पोर्तेले बताए । एमालेका नेतासमेत रहेका पोर्तेललाई पार्टीको विषयमा गिरीले जातीय विभेद हुने गरी गालीगलौज गरेर फोनमा कुरा गरेको रेकडसमेत  पेनड्राइभमार्फत प्रहरीलाई बुझाएको बताए । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले विभेदबारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अघि बढाएको बताएका छन् । 

 गिरीले हल्दीबारीमा भएको एमालेको बैठकमा एमाले केन्द्रीय सदस्य दीपक कार्कीले आफूमाथि अनावश्यक टिप्पणी गरेका कारण आक्रोशित भएर गालीगलौज गर्न पुगेको स्वीकार गरेका छन् । 

गिरीले आफुले नियत राखेर त्यस्तो गालीगलौज नगरेको बताउँदै दाई सम्झेर फोनको सम्वादमा ब्यक्तिगत रुपमा भनेको बताए । उनले सार्वजनिक ठाउँ र सामाजिक सञ्जालमा आफुले गाली गोलौज नगरेको बताउँदै फोनमार्फत उनको कुरा र शब्दले आवेगमा आएर बोल्न बाध्य भएको बताए ।