बिर्तामोड ।
छुरा प्रहारबाट गम्भीर घाइते बनेका बिर्तामोड–३ का २३ वर्षीय सुनिल मुर्मू भनिने सुनिराम मुर्मूको सफल उपचार भएको छ । झापाको बिर्तामोड–३ मा सञ्चालित स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले मुर्मूको सफल उपचार गरेको जनाएको छ । गत चैत १३ गते बिर्तामोड १ स्थित पश्चिम बस स्ट्याण्डमा साँझ छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका थिए ।
अस्पतालले शुक्रवार (आज) पत्रकार भेटघाट गरी मुर्मूको स्वास्थ्य अवस्था सुधारउन्मुख भएसँगै अस्पतालबाट डिस्चार्ज दिएको जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भई अचेत अवस्थामा अस्पताल ल्याइएका मुर्मूको अत्याधिक रक्तश्रावका कारण रक्तचाप न्यून भएको, मुटुको धड्कन अत्याधिक तेज भएको चिकित्सकले जनाएका छन् ।
छातीको पछाडिको भाग तथा मेरुदण्डमा छुरीको गहिरो चोट साथै छुरा गाडिएकै अवस्थामै उनलाई अस्पताल ल्याइएका कारण जोखिम उच्च रहेको अस्पतालका मेडिकल डाइरेक्टर प्रेम वहादुर साहीले पत्रकार सम्मेलनमा जानकारी दिए । डा. साहीका अनुसार अस्पतालमा उपलब्ध भएको ट्रमा टिम, स्पाइन सर्जन, जनरल सर्जन, मेडिसिन चिकित्सक, एनेस्थेसिया डाक्टर लगायतको टिमको अथक मेहनतका कारण मुर्मूको उपचार सम्भव भएको हो ।
घाइते अवस्थामा अस्पतालमा ल्याइपु¥याएका मुर्मूलाई रगत चढाउने, अक्सिजन दिने, रगत जाँच गर्ने, हतियारको चोट पत्ता लगाउन सीटी स्क्यान लगायतका सबै परीक्षण तत्काल गरेर उपचार शुरु गरिएको डा. साहीले बताए । समयमा अस्पताल आएका कारण मात्र उनको ज्यान जोगिएको हो उपचारमा सम्लग्न चिकित्सक डा. साही बताउँछन् ।
विरामी बचाउनका लागि अस्पतालले प्राथमिकता दिएको बताउँदै डा. साहीले भने – निम्न आर्थिक अवस्थाका मुर्मूको ज्यान बचाउन हामीले पैंसा भन्दा पनि पहिला उपचार गरेका हौं । मुर्मूको उपचारका लागि झण्डै चारलाख रुपैयाँ खर्च भएको बताइएको छ ।
अस्पताल प्रशासनले जनाए अनुसार मुर्मू परिवारले हाल सम्म ५०/६० हजार रुपैयाँ मात्र रकम अस्पताललाई बुझाएका छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएका कारण स्पाइन अस्पतालमा मुर्मूको उपचार सम्भव भएको चिकित्सकको दावी छ ।
यता छुरा प्रहारामा सम्लग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छुरा प्रहार गर्ने कनकाई नगरपालिका १ का मनोज विकलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । पुरानो रिसिवीका कारण उनी माथि छुरा प्रहार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।