बिर्तामोड । 

आसन्न इलाममा हुने उप–निर्वाचनका लागि स्वतन्त्र रुपमा युवा मनोज निरौला (प्रदिप) ले उम्मेद्वारी घोषणा गरेका छन् । निरौलाले बिर्तामोडमा पत्रकार भेटघाट गरी बिहीवार (आज) इलाम क्षेत्र नम्बर २ को बैशाख १५ गते हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । 

उनले एउटा सचेत युवाको हिसावले पर्यटकीय सम्भावनाको अथाह खानीका रुपमा रहेको इलामको विकास र प्रवर्धनमा आफ्नो उर्जालाई खर्चिने लक्ष्यले उम्मेद्वारी दिने बताए ।  निरौलाले नेपाल गणतान्त्रिक ब्यवस्थामा प्रवेश गरेपनि त्यसको संस्थागत विकासका लागि राजनीतिक नेतृत्वबाट पहलकदमी नभएको बताउँदै कल्पना गरे अनुसार गणतान्त्रिक ब्यवस्था नभएको गुनासो गरेका छन् ।

‘कुनैपनि राजनीतिक दलमा संलग्न नभएपनि मुलुकको परिवर्तनका लागि भएको आन्दोलनहरुमा मेरो सक्रिय सहभागीता छ’ ‘सन २००३ मा युक्रेनबाट मेकानिककल इन्जिनियरीङमा मास्टर गरेका निरौलालले भने ‘जनस्तरबाट विकासमा जनसहभागीता जुटाउँदै राज्यका निकायहरुलाई जिम्मेवार र जवाफदेही बनाउने योजनाका साथ मेरो उम्मेद्वारी हो ।’ नेताहरुको कार्यशैलीका कारण देश गणतान्त्रिक ब्यवस्थामा प्रवेश गरेपनि त्यसको अनुभव हुन नसकेको उनको भनाई छ । 

उम्मेद्वार निरौलालले उपनिर्वाचनमा मतदान गरेर जिताउन आग्रहसमेत गरेका छन् । उनले जितेपछि युवा सशक्तिकरणलाई ध्यानमा राखेर उनीहरुको सीप तथा क्षमता किास गर्ने, रोजगारीका अवसरहरु सिर्जना गरी युवालाई आयआर्जनका काममा सहभागी गराउने, युवाहरुको प्रतिस्पर्धा क्षमता विकास गरी ग्लोवल प्रतिस्पर्धामा काबिल बनाउनेलगायतका योजना साथै आफुले आर्थिक बिकास र समृद्धि राम्रोसँग बुझेको पत्रकार भेटघाटमा जानकारी दिए ।   

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि इलाम क्षेत्र नम्बर २ मा रिक्त रहेको पदका लागि बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।