झापा। 

श्रीमती परपुरुषसँग लागेको बिषयमा भएको बादबिवादमा खुकुरी प्रहार गरी झापामा एक जनाले श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी १ मा बिहीवार (आज) बिहान श्रीमान बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

आज बिहान बिहान ६ः३० बजेको समयमा देवनारायणले घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।

 राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भएरपछि  देवनारायणले खुकुरी प्रहार गरेको बताइएको छ । मृतक शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।