काठमाडौं । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमवार (आज) भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका हुन् ।  नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । 

सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले  भने ‘म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।’ जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आईपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भईसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष  भएको बताए ।