झापा । 

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादको अन्त्य नै अहिलेको सङ्कटको  समाधान भएको बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयोजना गरेको ‘वर्तमान आर्थिक–राजनीतिक सङ्कट र आम–सञ्चारमा यसको दुष्प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै अनिलले उदारवादको अन्त्य र समाजवादको स्थापना नै वर्तमान सङ्कटको समाधान भएको बताएका हुन् ।  

नेपालको पञ्चायत सङ्कटमा परेपछि अमेरिकनलाई गुहारेर तत्कालिन अर्थमन्त्री प्रकाश चन्द्र लोहनीले नीतिगत रूपमा देशलाई उदारवादतिर डोर्याएका र यसको कार्यान्वयन वहुदलपछि नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले गरेका कारण अहिलेको सङ्कट आएको बताए । 

अमेरिकाले सुरू गरेको उदारवाद अहिले नमानेको भन्दै उनले नेपालले मानिरहन आवश्यक नभएको बताए । नेपालको विकास नहुनु र आर्थिक राजनीतिक रूपमा सङ्कट पैदा हुनु भनेको उदारवादको परिणाम हो ।’, उनले भने, ’अहिले भारत, अमेरिकाले उदारवाद मानिरहेको छैन । उनीहरूलाई सङ्कट पर्दा उदारवाद मान्नेहरूले सुरू गरेको उदारवाद हामीले किन मान्ने ? यसको अन्त्य किन नगर्ने ।’

उनले नेपालमा बजार विविधिकरण गर्दै उदारवादको अन्त्य गर्नुपर्ने बताए  । ’परनिर्भरता अर्थतन्त्रले देशमा सङ्कट पर्याे, अन्तर्राष्ट्रिय व्यापार बढाउन भारतको निर्भरता तोडेर चीनका नाकाहरू खोल्नुपर्छ ।’ उनले भने, ’त्यसका लागि नेपालले नीतिगत रूपमा पहल लिनुपर्छ । चीनबाट पशु चौपाया खरिद गर्नका लागि कानून छैन । यस्ता थुप्रै कानून बनाएर भारतको परनिर्भरता अन्त्य गर्नुपर्छ ।’

नेपालले श्रम र कच्चा पदार्थ बेचिरहेको भन्दै त्यसले देश उभो नलाग्ने उनले बताए । ’नेपालले देशका लागि नभई नहुने युवालाई विदेशमा बेचिरहेको छ, नेपालको कच्चा पदार्थको रुपमा रहेको विद्युत बेचेर धनी हुने भ्रम छर्दैछ ।’, उनले भने, ’श्रम र कच्चापदार्थ बेच्ने कुनैपनि देश उभोँ लागेको इतिहास छैन । नेपाल पनि उभो लाग्दैन ।’