बिर्तामोड । 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन् । राजनीतिक समिकरण फेरिएर संघीय सरकार नयाँ गठबन्धनको बनेसँगै प्रदेश सरकार पनि फेरिने बताइरहेको अवस्थामा मुख्यमन्त्री कार्कीले भने कोशी प्रदेशमा यही सरकार रहने दावी गरेका छन् ।

बिर्तामोड–३ स्थित बिर्ता बजारमा शनिवार (आज) मदरसा तालिमुल कुरानको भवन शिलान्यास गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार नढल्ने बताएका हुन् । ‘पटुवाको सन्ठीले घोच्दा नरिवल झर्दैन’ मुख्यमन्त्री कार्कीले भने ‘सन्ठीले नरिवल घोचे जस्तो कसैले चाहँदैमा घोचेर कोशी प्रदेश सरकार ढल्दैन ।’

मन्त्री कार्कीले बिद्यार्थीलाई सक्षम बनाउने दायित्व प्रदेश सरकारको पनि भएको बताउँदै जसका छोराछोरी पढाईमा अब्बल छन् त्यस्तालाई प्रदेश सरकारले पैसा तिरेर पढाउने बताए । आफ्नै प्रदेशमा दक्ष नागरिक उत्पादन गर्न बिद्यालय पनि चाहिने बताउँदै मुख्यमन्त्री कार्कीले मदरसा चाँडै निर्माण हुने र त्यहाँबाट दक्ष नागरिक उत्पादन हुने बिश्वास ब्यक्त गरे । 

आर्थिक अवस्थाका कारण अध्ययनबाट बञ्चित  बालबालिकालाई प्रदेश सरकारले नै पढाउने बातारण सिर्जना गर्ने योजना पनि अघि सारेको उनले बताएका छन् । 

मदरसा तालिमुल कुरानका अध्यक्ष अफ्रोज खानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले भवनको शिलान्यास गरेका थिए । स्वागत मदरसा तालिमुल कुरान आधारभूत बिद्यालयकी प्रिन्सिपल अन्जुम खातुनले गरेको कार्यक्रमको सञ्चालन तेन्जिमा खातुनले गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त मदरसा भवन निर्माणाका लागि ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । ४ कठ्ठा १८ धुर जग्गामा निर्माण हुन लागेको भवन कोशी प्रदेश सरकार, झापाका अन्य स्थानीयतह, बिर्तामोड नगर र स्थानीयदाताहरुको सहयोगमा निर्माण गर्न लागिएको अध्यक्ष खानले बताएका छन् । जग्गा खरिदका लागि अझै रकम अपुग भएको बताउँदै उनले जग्गा खरिद र भवन निर्माणमा सहयोग गर्न सवैमा आग्रहसमेत गरेका छन् । 

शिलान्यास कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मा, बिर्तामोड–५ का वडाध्यक्ष रोहितकुमार प्रसाई, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड साना शहरी तथा खानेपानीका अध्यक्ष मेघराज बास्तोला, नेकपा एकाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, माओवादी केन्द्रका जगनाथ भट्टराईलगायतको आतिथ्य रहेको थियो ।