बगलुङ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।  

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई शनिवार (आज) सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताएका हुन् । 

‘गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवर्द्धधन, आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ‘२० वर्ष अगाडि मुक्तिनाथ जस्तो तत्कालीन दूर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्त्वपूर्ण छ ।’

उनले भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जवसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तवसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने बताए । ‘गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुछ ।‘ प्रचण्डले भने ।