बिर्तामोड ।

होटल ब्यवसायी देबीभक्त श्रेष्ठले आफुमाथि अन्याय भएको बताएका छन् । उनले सञ्चालन गरिरहेको काँकरभिट्टास्थित हिकोला हेरिटेजमा छोरा गौरव श्रेष्ठमाथि स्थानीय केहि युवाहरुको हुलहुज्जतले ज्यान मार्ने प्रयास गरेपनि सम्बन्धीत निकायलले यस बिषयमा चासो नदिएको गुनासो गरेका हुन् । 

झापाको बिर्तामोडको हिकोला हेरिटेज होटलमा आइतवार साँझ पत्रकार सम्मेलन गर्दै उनले छोरा गौरवमाथि आक्रमण भएको र होटलमा तोडफोड भएको बताएका छन् । होटलको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको अघिल्लो दिन स्थानीय युवाहरुले आक्रमण गरेको दावी छ ।  माघ २५ गते काँकडभिट्टास्थित होटलमा गौरवलाई स्थानीय केहि युवाहरुले कुटपिट गर्दै होटलबाट बाहिर निकालेको सीसी टिभी फुटेज पत्रकार सम्मेलनमा देखाइएको थियो । कुटपिटबाट उनको शरीरमा चोट समेत लागेको स्पष्ट देखिन्छ ।

छोरामाथि कुटपिट भएपछि श्रेष्ठले प्रहरी प्रशासनमा न्यायका लागि माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।आइतवार बिहान पनि आफुमाथि दुव्र्यवहार भएको गौरवले बताएका छन् । मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईकै अगुवाईमा दुव्र्यवहार भएको गौरवको आरोप छ । पत्रकार सम्मेलनमा  बाणिज्य संघका अध्यक्ष प्रसाईसहितका केही युवाले गौरवमाथि कुटपिट तथा लछारपछार गरेर दुव्र्यवहार भएको भिडियोमा देखिन्छ । सञ्चालक श्रेष्ठले सम्झौता अनुसार १२ वर्ष अझै होटल चलाउन पाउने दावी गरेका छन् । सञ्चालक श्रेष्ठले भाडा बुझाउन बाँकी समेत नरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले हिसाव गर्दा भाडा बुझाउनुपर्ने देखिए तत्कालै बुझाउन पनि तयार रहेको बताएका छन् ।

यता घरधनी पशुपति दाहालले तीन बर्षदेखि भाडा नपाएको बताएका छन् । उनले डेढ वर्षदेखि भाडाका लागि ताकेता गर्दा पनि नपाएको बताए । उनले घर भाडा तिर्न वा खाली गर्न पटक–पटक श्रेष्ष्ठलाई आग्रह गर्दापनि नटेरेपछि आफ्नो घरमा गएको बताए । त्यस परश्चात केही विवाद भएको उनले स्वीकारे । उनले आफुमाथि अन्याय भएपछि जिल्ला प्रशासन, इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका, होटल ब्यवसायी संघ मेचीनगरलगायतमा घटनाका बिषयमा जानकारी गराएको र गाउँलेको सहयोग घरभित्र प्रवेश गरेको बताएका छन् ।

devi

घरधनी दाहालका अनुसार श्रेष्ठले तीन वर्षदेखि भाडा दिएका छैनन् । उनले तीन बर्षको १ करोड २३ लाख ७ हजार ५०० रुपैयाँ पाउन बाँकी मध्ये श्रेष्ठले ४९ लाख ५८ हजार ५०० रुपैयाँ दिएको र हाल ७३ लाख ४९ हजार रुपैयाँ भाडा पाउन बाँकी रहेको बताए ।

उनले उक्त घर नेपाल बैंकमा रहेको बताए । बैंकले आफुलाई किस्ता तिर्न पटक पटक ताकेता गरेपनि किस्ता तिर्न नसकेपछि बैंकले घर लिलामी गर्ने अवस्था आएपछि आफ्नो परिवार बिक्षिप्त भएको बताएका छन् । किस्ता तिर्न नसकेपछि आफुले होटल सञ्चालक श्रेष्ठलाई ताकेता गरेको उनी बताउँछन् ।

‘घर लिलामी हुन लाग्यो, भाडा दिनुस् भन्दा लिलामी भए म सकार्छु भनेपछि हडप्ने प्रपञ्च देखे’ दाहालले भने ‘घर हडपिने डरले इप्रका, वाणिज्य संघ, जिल्ला प्रशासन, न्यायिक समितिमा उजुरी गरेको हुँ ।’

दाहालले श्रेष्ठको बिर्तामोडस्थित घरमै पुगेर भाडाको कुरा गर्दा कृटपिट गर्ने धाकधम्की दिएको उनको बताएका छन् । आफ्नो घरमा भाडा नपाएपछि गुहार मागेको घरधनि दाहालको भनाई छ । घरधनी दाहालका अनुसार बाणिज्य संघका अध्यक्ष प्रसाईको संयोजकत्वमा ७ सदस्यीय रिमूल्याङकन समिति बनाइएको बताए । सामानको मूल्याङकन गरेर श्रेष्ठले पाउने पैसा दिइने उनको भनाइ छ ।

घरवेटीलाई दोस्रो पक्ष बनाएर सम्झौता गरेको घरको विवाद बारे पटक–पटक नगरपालिकामा छलफल भएको  थियो । छलफलमा पत्र काटेर बोलाउदा समेत श्रेष्ठ सहभागी नभएको होटल ब्यवसायी संघ मेचीनगरका बरिष्ठ उपाध्यक्ष मानबहादुर गिरीले बताए । यस बिषयलाई लिएर बाणिज्य संघमा सोमवार (आज) पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताइएको छ ।