बिर्तामोड ।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले शनिवार (आज) बिर्तामोडस्थित कार्यालय परिसरमा साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलालले गरेको कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए ।
संस्थाका अध्यक्ष बास्तोलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समस्या तथा सुनौतीहरु, भावी योजनाहरु प्रस्तुत गरेको थिए । अध्यक्षको प्रतिवेदन अनुसार हाल तीन वटा ओभरहेड टुयांकी, १५ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लान्ट र नौ हजार उपभोक्ताहरु छन् । लामो समयदेखि जडान भएका डिप बोरिङबाट समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संस्थाले यसै आर्थिक बर्षको पौषसम्ममा श्री टेकबहादुर बसपार्कमा एक थान, संस्थाले २ नम्बर ट्यांकी छेउमा खरिद गरी एक थान र ३ नम्बर ट्याङ्की छेउ मेहरमान स्मृति प्रतिष्ठानले निःशुल्क उपलब्ध गराएको जग्गामा एक थान डिप बोरिङ जडान गरिसकेको र यसै बर्ष थप दुई वटा बोरिङ जडान गरिने अध्यक्ष बास्तोलाले बताए ।
उनका अनुसार संस्थाको कार्यक्षेत्र भित्रका अति आवश्यक स्थानमा उपभोक्ताको माग अनुसार पाइपलाइन बिस्तार, उपयुक्त कार्यालय भवन निर्माण, ४ वटा स्कीमबाट १० वटा समर्सिवल पम्पले दैनिक १ करोड ९३ लाख लिटर पानी उत्पादन गरी २४ सै घण्टा पानी उपलब्ध गराइएको छ । त्यस्तै पानी शुद्धिकरणका लागि २ वटा फिल्टर मिडियो जडान, सुरक्षाका लागि वाल कम्पाउण्ड ग्रील निर्माण, कार्यसमिति र कर्मचारीको क्षमता अभिबृद्धिका लागि अभिमूखिकरणलगायतका कार्यक्रम सञ्चालन गरिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा आम्दानी ७ करोड ६३ लाख ७ हजार २४१ रुपैयाँ ८९ पैसा र खर्च ४ करोड ३४ लाख ५९ हजार ४९९ रुपैयाँ भई ३ करोड २८ लाख ४७ हजार ७४२ रुपैयाँ २८ पैसा बचत रहेको छ । यस आवको शुरुमै बैंक तथा नगद गरी १ करोड ६३ लाख ९८ हजार ७७२ रुपैयाँ ५३ पैसा भएको कोषाध्यक्ष रिजालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सोही कार्यक्रमकाबिच जेष्ठ उत्कृष्ट उपभोक्ताको रुपमा चन्द्रबहादुर खड्का र कान्तीदेवी शाहलाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारीका रुपमा प्लम्बर प्रकाश शिवा दर्जीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेत, मेची आँखा अस्पतालका अध्यक्ष तथा संस्थाका निबर्तमान अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर निवर्तमान मेयर ध्रुव शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, संस्थाका सल्लाहकार मदनगोपाल सुब्बा, राजेन्द्र लिङ्देन, सामाजिक ब्यक्तित्व लोकबन्धु कन्दङ्वालगायतको आतिथ्य रहेको थियो ।