बिर्तामोड ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिर्तामोड नगर अस्पतालको अनुगमन गरेका छन् । मन्त्री बस्नेतले शुक्रबार (आज) नगरमा सन्चालनको तयारीमा रहेको डायलासिस कक्षसहितको अनुगमन गरेका हुन् ।
मन्त्री बस्नेतलाई बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगर अस्पताल सन्चालनमा देखा परेका समस्या र आवश्यक विषयमा जानकारी गराएका थिए । नगर प्रमुख प्रसाईले आमा सुरक्षा कार्यक्रमको अप्रेशन थिएटरमा आवश्यक उपकरणको लागि मन्त्री बस्नेतसँग माग पत्रसमेत बुझाएकी छिन् ।
मन्त्री बस्नेतले आवश्यक उपकरणका विषयमा राज्यको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । सरकारले नगरपालिका र गाउँपालिकालाई एकै दरमा औषधी प्रदान गर्ने नीति व्यवहारिक नभएको भन्दै उनले यसलाई परिमार्जन गर्न आवश्यक रहेकोले मन्त्रालयमा छलफल गर्ने बताए।
सरकारले निःशुल्क प्रदान गर्ने औषधी गाउँपालिका सरह नै बिर्तामोडलाई दिने भएकोले औषधी अभाव हुँदै आएको छ । बिर्तामोडमा ठुलो जनसंख्या रहेकोले औषधी चाँडै सकिने गरेको छ । स्थानीय तहलाई औषधी खरिद गर्ने कानून पनि नभएकाकारण सर्वसाधारण मारमा पर्ने गरेका छन् ।
यसैविच आज नै प्रदेश स्वास्थ्य मन्त्रालयबाट पनि विज्ञसहितको टोलीले डायलासिस कक्षको अनुगमन गरेको छ । नेफ्रोलोजिस्ट डा. निराजन शाह, जन स्वास्थ्य विज्ञ दुर्गा आचार्य, मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्का सहितको टोलीले अनुगमन गरेको हो । बिर्तामोड नगर अस्पतालमा ६ बेडको डायलासिस सेवा सन्चालनको तयारीमा छ ।