मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले अहिले १५ वटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् ।

मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला लक्षित कार्यक्रमका रूपमा अगाडि सारिएको उक्त कार्यक्रम अहिले सबैमाझ प्रभावकारी बन्दै गइरहेको उनको भनाइ छ । उनका अनुसार यस आर्थिक बर्षको लागि  पहिलो चरणमा ७ लाख बजेट छुट्याइएर कार्यक्रम अगाडी बढाइरहेको भएता पनि १५ लाखबढी रकम आवश्यक रहने र त्यो रकम नगरपालिकाले उपलब्ध गराउने उनले बताइन् ।

अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा ११२ जनाले सेवा लिएका थिए भने नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को छ महिनामा मात्रै सुत्केरी पोषण कार्यक्रम अन्तर्गत १६४ जनाले सेवा लिएका निमित्त स्वास्थ्य शाखा प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिए ।

नगरपालिकाले मापदण्ड नै बनाएर अहिले सुत्केरी महिलाहरुलाई १ केजी घ्यु, मह र मिक्स गेडागुडी गरी २ हजार मुल्य बराबरको पोषण सामाग्री वितरण गरिरहेको छ । सुत्केरी पोषण कार्यक्रम सेवा लिनका लागि अनिवार्य अस्पताल मै सुत्केरी हुनुपर्ने छ । त्यस्तै बच्चाको जन्मदर्ता अनिवार्य रहेको छ ।