उदयपुर । 

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा शनिबार (आज) प्रशासकीय भवन उद्घाटन गरेका हुन्। उक्त भवन सात करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्रीले  रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताए । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताएका छन् । 

उनले शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गरे ।  मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा  फर्किएको स्पष्ट पारे । 

उनले अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेको र विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको बताउँदै यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको बताएका छन् । उनले पछिल्लो समय राजस्व पनि वृद्धि पनि भएको बताए ।