बिर्तामोड ।
झापाको बिर्तामोड–९ को दुर्गा माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सवमा दर्जनौं ब्यक्तित्वलाई सम्मान गरेको छ । बिद्यालयले बार्षिकोत्सवका अवसरमा शिक्षक, विद्यार्थी, अभिभावकलगायत दर्जनौं व्यक्तिहरूलाई बुधबार सम्मान गरेको थियो ।
अग्रज पत्रकार इन्द्रजित मुखिया सुनुवारलाई उत्कृष्ट शैक्षिक पत्रकार सम्मान प्रहान गरिएको थियो । विद्यालयले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वर्ष शिक्षक सम्मानद्वारा शिक्षक धर्मेन्द्र भट्टराईलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई संघीय संसदका सभामुख देवराज घिमिरेले सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक कुमार खरेल र जनार्दन मिश्रलाई दीर्घसेवा सम्मान द्वारा सम्मानित गरिएको छ । स्वर्गीय खतियासिंह राजवंशी स्मृति अक्षय कोषबाट विद्यालयका शिक्षक निरतलाल राजवंशी र देवकोटा आविकी शिक्षिका टिका चौधरीलाई नगद सम्मान गरिएको थियो।
विद्यालयका पूर्व प्रधान अध्यापकहरू र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो थियो। कार्यक्रममा सारदा राजबंशी जग्गादाता फलिता राजवंशी र एजमिरा खातुन र आकृति खरेललाई समेत सम्मान गरिएको थियो। विद्यालयमा स्थापित १० वटा छात्रवृत्तिहरूबाट विभिन्न विद्यार्थीहरूलाई नगद प्रदान गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेशका सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रदेवी महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा पूर्व प्रधानाध्यापक गुरुभक्त न्यौपानेले २ लाख ५१ हजारको अक्षय कोष स्थापना गरिदिने घोषणा गरेका छन् ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । सहायक प्रधानध्यापक लेखनाथ सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक धर्मेन्द्र भट्टराई र उमानाथ भण्डारीले संयुक्त रुपमा गरेका थिए ।