बिराटनगर।

मोरङ र झापाको तीन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर–१५ बाट १९.३३ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । घटनामा संग्लग्न रहेकी बिराटनगर–१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजुसहित पक्राउ गरेको हो । 

त्यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका–४ बाट स्थानिय ३३ बर्षीय चित्रकुमार रपाल (बिक) लाई २५ ग्राम लागूऔषध ब्राउनसुगर, बिभिन्न कम्पनिका–५ थान मोबाइल  र डिजिटल तराजु १ थानसहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार  पक्राउ गरेको हो ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट बुद्धशान्ति गाउँपालिका–५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागूऔषध खैरो हेरोइनसहित मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धीत इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।