झापा ।
देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा मंगलबार (आज) देशभर विभिन्न कार्यक्रमका साथ शहिद दिवस मनाइदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आजको दिन प्रत्येक बर्ष विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने गरिन्छ ।
गत वर्षहरूमा जस्तै यसवर्ष पनि शहीदहरूको योगदानको चर्चा गर्दै गत माघ १० देखि १६ गतेसम्म सप्ताह व्यापीरूपमा दिवस मनाउने कार्यक्रम आयोजना गरिएको छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको विशेष सम्झनाका रुपमा शहीद दिवसलाई लिने गरिन्छ ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । नेपालमा पहिलो शहीदका रुपमा लखन थापालाई मानिने गरिन्छ।