बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई जाडोको पवडा वितरण गरिएको छ ।
वर्षेनि न्यानो लुगा बाँड्दै आएको ८ नं वडा कार्यालयले आइतवार (आज) अपांगता भएका ५० जना र ७७ जना विपन्न ज्येष्ठ नागरिक गरी १२७ जनालाई जाडोको कपडा वितरण गरेको हो ।
वडा कार्यालयले गत वर्ष ती लक्षित समूहलाई ब्लांकेट वितरण गरेको थियो । वडाध्यक्ष अजय कार्की, वडा सदस्य सोयालाल राजवंशी, वडासचिव वेदप्रकाश अधिकारी, वडाको मेलमिलाप समितिका सदस्य कृष्ण श्रेष्ठलगायतले अपांगता भएका र ज्येष्ठ नागरिकलाई जाडोको लुगा वितरण गरेका थिए ।
स्थानीय सरकारको दायित्व निर्वाह गर्ने क्रममा आफ्ना वडाभित्र रहेका अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई जाडोमा समस्या नहोस् भनेर न्यानो लुगा वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । उनले केही दिनपछि शुक्रराज आधारभूत विद्यालयका २३७ जना विद्यार्थीलाई स्कुले जुत्ता वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । अपांगता भएका र ज्येष्ठ नागरिकहरुलाई जाडोको लुगा वितरण गर्न वडा कार्यालयले डेढ लाख रुपैयाँ छुट्याएको थियो ।