झापा । 

राष्ट्रिय सभा सदस्यका लागि बिहीवार (आज) निर्वाचन हुँदैछ। फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदका लागि  आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ ।

आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्। नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ। गठबन्धनतर्फको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन्। 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार खडा गरेका छन्। राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्। 

निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन्। प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ। मतदान सकिएपछि गणना हुने भएकाले आजै बेलुकासम्म परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ।