झापा । 

देशभरको मौसम आज साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदलीय रही तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ । 

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

बेलुका पहाडी क्षेत्रमा केही बदली भएपनि साधारणतया देशभरको मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईमा भने चिसोका कारण जनजीवन कष्टकर बनेको छ । 

हुस्सु र कुहिरोले यातायातका साधनहरु निर्बाधरुपले चल्न सकेका छैनन् भने सर्वसाधारणलाई दैनिकी चलाउन समेत हम्मे परेको छ । महाशाखाले चिसोबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।