बिराटनगर । 

सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानबाट गाँजा र लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । 

सुनसरीको देवानगञ्ज गाउँपालिका–६ नहरचौक स्थितमा रासिबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकको १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको थियो । 

बरामद गाँजासहित अटो चालक सुनसरीको धरान उप–महनगरपालिका–११ का २९ बर्षिय कुमार तामाङ र अटोमा सवार ३० बर्षिय रामबहादुर राई समेतलाई नियन्त्रणमा लिएर वश्यक अनुसन्धान कार्य गरीरहेको इलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सोमबार भारतको अररीया जोगबनी–११ धर्मशालाका २० बर्षिय बिशाल पोदारलाई बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटस्थित भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ३ ग्राम ११ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।