अर्जुनधारा । 

कोशी प्रदेशमै पहिलो पटक अर्जुनधारा नगरपालिकामा गाईगोरुसहित अन्य पशुलाई अस्पतालमै लगेर उपचार गर्ने अत्याधुनिक भेटनरी अस्पताल निर्माण गर्ने भएको छ ।

मान्छे बिरामी हुँदा जसरी एम्बुलेन्समा अस्पताले लगेर उपचार गरिन्छ त्यसरी नै गाईगोरु तथा अन्य पशुलाई पनि ठेला वा सवारी साधनमा लगेर उपचार गर्न सकिने अस्पताल निर्माण गर्न लागिएको हो । 

झापाको अर्जुनधारा नगरपालिकामा अत्याधुनिक भेटनरी अस्पताल निर्माण हुने भएको छ । नगरमा करिब ४ करोड रुपैयाँको लागतमा अस्पताल निर्माण गरिने निर्णय गरिएको छ ।  

 अर्जुनधारा नगरपालिकामा शनिवार नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता  तथा कोशी प्रदेशको उधोग, कृषि तथा सहकारी मन्त्रालयका सचिब डा. लेखराज दाहालको उपस्थितिमा भएको छलफलमा अस्पताल निर्माण गर्ने निर्णय भएको नगरले जनाएको छ । 

उक्त छलफल कार्यक्रममा नगर उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पूर्व महानिर्देशक डा प्रहलाद सापकोटा, दिलिप सापकोटा, वरिष्ठ कार्यक्रम प्रबन्धक हेफरका दिपेश पोखरेल,आर्थिक विकास संयोजक गौरीमाया चिमोरिया लगायतको सहभागिता रहेको थियो ।