काठमाडौँ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । काठमाडौंको टुंडिखेलमा सोमबार आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीहरूसमेत गुम्नसक्नेतर्फ सम्पूर्ण नेपालीलाई सचेत गराएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने ‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढंगले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ।’