झापा ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेको थियो । दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जना मध्ये २ भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष रहेका इलाका प्रहरी कार्यालय भालुभाङले जनाएको छ ।
मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०–३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।
बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ । १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोडेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै उद्दार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।