बिर्तामोड ।

 बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ । घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताए। उनी हाल संघको वाणिज्य उपाध्यक्ष छन् । 

वाणिज्य संघ कुनैपनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको  जोड छ । आफु पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उनले व्यवसायीले यस कुरालाई सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे । 

व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंग क्षेत्रका समस्या रहेपनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक पटक कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले वर्तमान नेतृत्वले राजनीति बाहेक केहि गर्न नसकेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघलाइ व्यवसायीको हितमा बनाउनको लागि अब आफुहरु अघि बढेको घिमिरेको भनाइ छ । कोभिडको समयदेखि थलिएको बजार हालसम्म उठ्न नसकेपछि धमाधम सटरहरु बन्द हुन थालेको भन्दै यस विषयमा नेतृत्व गम्भिर हुन जरुरी रहेको घिमिरेले बताए।

राज सप्लायर्सका सन्चालक घिमिरे करिब ३० वर्षदेखि व्यवसाय क्षेत्रमा हुनुहुन्छ । हाल अलैंची व्यवसायी महासंघको केन्द्रिय सदस्यसमेत रहेका घिमिरेले लायन्स क्लब अफ अनारमनीको अध्यक्ष हुँदा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत अवार्ड प्राप्त गरेका थिए ।  व्यवसायी घिमिरे २०५८ सालमा पाँचथरको रवि उद्योग वाणिज्य संघ (शाखा) को सचिब थिए । व्यवसायी घिमिरे सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।