बिराटनगर।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री ‘सिर्जन’ विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री ‘सिर्जना’ को विमोचन प्रमुख अतिथि बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मानसिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा गरेका हुन् ।
प्रमुख अतिथि डा. कार्कीले आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्रीले ‘सिर्जना’ ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा पुग्ने वताएका छन् । उनले जनताको सेवामा अहोरात्र खटिने प्रहरी र उनका परिवार स्वस्थ्य रहेमा मात्र स्वस्थ्य प्रहरी सेवा उपलब्ध हुने हुँदा पहिला प्रहरी स्वस्थ रहन जरुरी रहेको साथै स्वस्थ्य सेवा उपलव्ध गराउने स्वास्थ्यकर्मीहरु सुरक्षित रहेमा मात्र बिरामीहरुको प्रभावकारी उपचार सम्भव रहने तथा नागरिकको सुरक्षाको जिम्वेवारी वहन गर्ने प्रहरी कर्मचारीहरुलाई मेडिकल कलेज कुनै दुविधा नराखि उपचार सेवा उपलव्ध गराउन तयार रहेको वताए।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बास्तोलाले कोशी प्रदेशमा आत्महत्याको दर उच्च भएसँगै त्यसको न्यूनिकरणको लागि आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामुलक भिडियो निर्माण गरी कोशी प्रदेश प्रहरीलाई उपलब्ध गराएर विमोचन गरीदिएकोमा धन्यवाद व्यक्त गरे । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतनाको लागि समुदाय र टोल टोलमा उक्त भिडियो प्रदर्शन गरिने उनले बताए ।
विमोचन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त भिडयो कोशी प्रदेश प्रहरी कार्यालयको फेसबुक पेजमा छ ।