बिर्तामोड । 

झापाको बिर्तामोडमा बिहीवार (आज) खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकार वालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।कृषि तथा पशुपंछी मन्त्रालय, खाद्य प्रविधि गुण नियन्त्रण बिभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना तथा नारी सञ्चार गृह झापाको सहआयोजनामा अन्तरक्रिया भएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले गरेको कार्यक्रमको सञ्चालन सह–सचिव जोस्ना श्रेष्ठले गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले खाद्य स्वच्छता तथा गुणस्तरमा सवैले चासो राख्नु पर्नेमा जोड दिए । उनले केही दिन अघि सतासी डिपार्टमेन्टमा खान अयोग्य चाउचाउ भेटिएको अर्कोमा पसलमा सडेगलेको खाद्य सामाग्री भेटिएको भन्ने कुरा आफुमा आएको बताउँदै चाँडै त्यसको पनि अनुगमन गर्ने बताएका छन् । 

अन्तरक्रियामा उपस्थिति सरोकारवालाहरुले पनि खाद्य गुणस्तरका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।