बिर्तामोड । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभामा उम्मेद्वारी सदस्य बन्नका लागि मात्रै नभई राष्ट्रियसभा अध्यक्षका लागि भएको बताएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न गठबन्धन दलसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले शान्ति प्रक्रियाका अधुरा काम पूरा गरेर संविधानको पूर्ण कार्यान्वयनका लागि  गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न मतदाताहरुलाई आह्वान गरेका छन् । 

प्रदेश–१ बाट गठबन्धनका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजक भएर संविधान निर्माण गर्न अत्यन्तै महत्वपूर्ण कार्य गरेको चर्चा गर्दै शर्माले संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रियसभामा उनीहरुको आवश्यकता औंल्याए ।

उम्मेद्वार चयनका सवालमा केन्द्रीय समितिमा ब्यापक छलफल र बहस भएको प्रसङ्ग उल्लेख गर्दै महामन्त्री शर्माले पार्टीले उम्मेद्वार निर्णय गरिसकेपछि कांग्रेसभित्र कुनै प्रकारको फरकमत र द्विविधा नरहेको स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रियसभा सदस्यका उम्मेद्वार एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पार्टी र सिङ्गो गठबन्धन दलले नै संविधानको पूर्ण कार्यान्वयनका लागि आफूलाई उम्मेद्वार प्रस्ताव गरेको हुँदा संविधानको रक्षाका लागि गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गरे । 

त्यसैगरी नेकपा माओवादीका तर्फबाट उम्मेद्वार बनेकी चम्पादेवी कार्कीले निर्वाचनले राष्ट्रिय महत्व राख्ने बताउँदै गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरिन् ।  कार्यक्रममा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रीय सदस्य झलकसिंह दर्लामीले धन्यवाद ज्ञापन गरेका थिए । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेत, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र मोहन टुडु, नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य र गोमा भट्टराई,  नेकपा समाजवादीका बेदराज रेग्मी, प्रदेशसभा सांसद, पालिकाका प्रमुख उपप्रमुख, गठबन्धन दलका नेता कार्यकर्ताको वाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गरेका थिए । 

  • गठबन्धन दलको निर्वाचन परिचालन समिति गठन

विर्तामोड  । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन परिचालनका लागि झापा जिल्लामा गठबन्धन दलको निर्वाचन परिचालन समिति गठन भएको छ ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बिहीवार (आज) सम्पन्न गठबन्धन दल, राष्ट्रियसभाका उम्मेद्वार, सांसद र पालिका प्रमुख÷उपप्रमुखको संयुक्त बैठकले नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको संयोजकत्वमा ‘राष्ट्रियसभा निर्वाचन २०८०, निर्वाचन परिचालन समिति’ गठन गरेको हो ।

समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट राम कट्टेल र कृष्ण हुमागाई, नेकपा माओवादीका राजु आचार्य अग्नी र मोहन टुडु, नेकपा समाजवादीका बेदराज रेग्मी र वीपी भट्टराई, जनता समाजवादीका दिपेनवाला राई र गौरीमान राई रहेका छन् ।

नवगठित निर्वाचन परिचालन समितिको आजै सम्पन्न बैठकले गठबन्धन दलको कोशी प्रदेश समितिले तय गरेका उम्मेद्वारको निर्वाचन प्रचार–प्रसार कार्यतालिका अनुसार  कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।