बिर्तामोड । 

नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य शुरु गरेको छ । दुई दिन पहिले पुस २२ गते झापा निर्वाचन क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुमाझ उक्त अभियानको प्रारम्भ गरिएको थियो । आज क्षेत्र नं. २ अन्तरगत बसोबास रहेका जिल्ला कमिटी सदस्यहरुको बैठकमाझ स्वमूल्याङ्कन सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

जिल्ला सचिव तथा संगठन विभाग प्रमुख शिव ढुङ्गेलले पार्टी जिल्ला कमिटीले निर्धारण गरेको कार्ययोजनामा आधारित रहेर संगठन विभागले १७ वटा प्रश्न तयार गरी पार्टीका जिल्ला नेता र मातहत कमिटीमा रहेर काम गरिरहेका जिम्मेवार कार्यकर्ताहरुको मूल्याङ्कनको सुरुवात गरेको बैठकमा जानकारी दिए । विभागले जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी एवम् सदस्यहरु र वडा कमिटीका पदाधिकारी एवम् सदस्यहरु तथा २३ वटै जनवर्गीय संगठनमाझ प्रश्नहरु पठाएर स्वमूल्याङ्कन गरिने विभागीय प्रमुख तथा पार्टी जिल्ला सचिव ढुङ्गेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय संयोजक बद्री भट्टराईको अध्यक्षमा सम्पन्न बैठकमा झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की र उपाध्यक्ष प्रेम गिरीले विशेष मन्तब्य राख्दै स्वमूल्याङ्कनको अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको जनाए ।स्वमूलाङ्कनको कार्यले जिम्मेवार नेता कार्यकर्ताहरुको समाज रुपान्तरणमा कस्तो योगदान रहेछ भन्नेसमेत मूल्याङ्कन गर्न सहयोग गर्ने नेताहरुको भनाई थियो । कम्युनिष्ट चरित्र कस्तो हुनुपर्छ र हामी कता गइरहेका छौं भन्ने कुरा बुझाउन नेता कार्यकर्तालाई स्वमूल्याङ्कनले सहयोग पुर्याउने जनाइएको छ ।

सचिव ढुङगेलले स्वमूल्याङ्कन कार्य पार्टी जीवनका लागि एउटा परीक्षा पनि भएको जनाउँदै २२ गतेको बैठकले यसलाई परीक्षा भनी प्रचार भएकोमा सो कुरा संशोधन गर्न सुझाव दिए । आगामी माघ १५ सम्म संगठन विभागले मूल्याङ्कनका लागि तोकिएको सदस्य र कमिटीहरुबाट प्रतिवेदन संकलन सम्पन्न गर्ने जनाएको छ । उक्त प्रतिवेदन संकलन पछि पार्टी काम र नीति निर्माणका लागि सहयोगी सामग्री बनाइने संगठन विभागको तयारी छ । जिल्ला पार्टीले सदस्यहरुबाट संकलित र कमिटीहरुबाट संकलित प्रतिवेदनहरुको व्यवस्थित अभिलेख तयार गर्नेछ ।

संगठन विभागका प्रमुख ढुङ्गेल भन्छन्– यो सामग्रीलाई जिल्ला पार्टीको वेबसाइट झापाली आवाजमा समेत अध्ययन गर्न मिल्ने गरी प्रस्तुत गरिनेछ । सो अन्तरक्रियात्मक बैठकमा जिल्ला कमिटीका सदस्यहरु देवराज कार्की, मनोरथ तिवारी, गोपाल काफ्ले, डम्बरबहादुर बस्नेत, दिपेन्द्र लम्साल, भक्तिप्रसाद तिवारी, रोहितमान ढकाल, भोला धिताल लगायतले आफ्ना धारणा एवम् सुझावहरु प्रस्तुत गरेका थिए ।