बिर्तामोड ।
कोशी प्रदेशमै पहिलो पटक झापाको बिर्तामोडमा आयोजना गरिएको जुत्ता–चप्पल महोत्सवमा १० दिनको अवधिमा ८५ लाख रुपैयाँको कारोबार भएको छ ।
बिर्तामोडस्थित सिटी सेन्टरमा गत पुस ९ गतेबाट शुरु गरिएको जुत्ता–चप्पल मोत्सवमा १० दिनको अवधिमा ८५ लाख रुपैयाँको कारोवार भएको महोत्सव आयोजकले आइतवार(आज) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्यायले जानकारी दिएका हुन् ।
‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म सञ्चालन हुने ‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ मा हालसम्म ६० हजार दर्शकले अवलोकन गरेको उनले बताए । पछिल्लो समय स्वदेशी उत्पादनमा उपभोक्ताको आकर्षण बढ्दै गएको उनले बताए । उनका अनुसार महोत्सवमा खरिद गरिएका जुत्ता चप्पलमा ६ महिनाको वारेन्टी दिइने र महोत्सवमा खरिद गरिएका जुत्ता चप्पल देशभरका कुनैपनि जुत्ता चप्पलका शोरुम वा पसलबाट सेवा लिन सकिने उनको भनाई छ ।
महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने लक्ष्य राखिएको जनाइएको छ । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा १५ भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल अन्तरगत तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।
महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको र महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने गरेको छ ।