हल्दिबारी । 

झापाका स्थानीय तहका प्रमुखहरुको जिल्ला स्तरिय बैठक तथा भेला हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ । झापाका सवै पालिकाका प्रमुखहरुले यस पटक (आज) बिहिबार हल्दिबारी गाउँपालिकामा बैठक बसेका हुन् । 

झापाका सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुको बिचमा आपसी छलफल, असल अभ्यास र अनुभव आदान–प्रदान तथा विभिन्न विषयमा गरेका प्रगति चुनौतीका बारेमा बुझ्ने उदेश्यले बैठक बसेका हुन् । २ महिना अघि शुरु गरिएको भेटघाट प्रत्येक महिना छुट्टा–छुट्टै पालिकामा हुने हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिए ।

छलफलमा स्थानीय निकायमा अवलोकन कार्यक्रम तय र त्यहाँ भएको कुनै बिशेष विषयमा प्रस्तुतिकरण गर्ने गरिएको थियो । आज हल्दिबारीमा शिक्षाको क्षेत्रमा गरिएको प्रगति तथा नविनतम प्रविधिको बारेमा प्रस्तुति रहेको थियो ।

हल्दिबारी गाउँपालिका कक्षा १२ सम्म निःशुल्क शिक्षा रहेको छ भने हल्दिबारी नमुना माध्यमिक विद्यालयमा प्राविधिकधारतर्फ बालीविज्ञान निःशुल्क पढाई हुँदै आएको छ । 

त्यसैगरी हल्दिबारीका अविभावकहरूले घरमै बसेर विद्यालयको गतिविधि अवलोकन गर्ने सिसि क्यामेरा एप्स पनि जडान गरेको छ । उक्त एप्सको माध्यमबाट एसि सहितको बालशिक्षा सञ्चालन भईरहेको छ भने मेचे जातिको मातृभाषा पनिपाठ्यक्रम तयार गरेर दिपेन्द्र आधारभूत विद्यालयमा पढाई भईरहेको पनि जानकारी गराइएको थियो । हल्दिबारीको प्रस्तुति पश्चात् कार्यक्रममा सहभागी ८ वटा स्थानीय निकायका प्रमुखहरुले आफ्नो ठाउँको शिक्षाको गतिविधि जानकारी गराएका थिए ।

कार्यक्रममा गौरीगञ्ज, गौरादह र झापा गाउँपालिका र भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी दमक नगरपालिकाका प्रमुखहरू तथा शिक्षा शाखाका प्रमुखहरूको सहभागीता रहेको थियो ।   हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले स्वागत गरेकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), ५ वटा वडाका वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खड्ग लावतीलगायत जनप्रतिनिधिहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए । पालिका प्रमुखहरुको आगामी बैठक गौरीगञ्ज गाउँपालिकामा बस्ने तय भएको छ ।