बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवार बन्ने चर्चा शुरु भएको छ । निर्वाचन मिति नजिकिदै गइरहेको बेला अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट युवराज निरौला र गोमा भट्टराई पनि उम्मेदवार बन्ने भएका हुन् । कुन पदमा उठ्ने भन्ने टुंगो नलागेपनि दुवैजना निर्वाचनको तयारीमा जुटेको बुझिएको छ ।
न्यु मोबाइल एशोसोरिजका सञ्चालक युवराज निरौला बिगत १६ वर्षदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड, मोवाइल एशोसिएसन बिर्तामोडको अध्यक्ष, शिक्षा सहकारीको लेखा संयोजक छन् ।
निरौलाले बिर्तामोड उद्योग वाणिज्य संघ व्यवसायीक संस्था भएपनि हालसम्म व्यवसायीक मैत्री हुन नसकेको बताएका छन् । बजारलाई व्यवस्थित र थप चलायमान बनाउन आफ्नो उम्मेदवारी आवश्यकता रहेको भन्दै यस पटक उम्मेदवार बन्ने बताएका छन् । आकांक्षी निरौलाले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो लाग्न बाँकी रहेको बताए ।
व्यवसायी गोमा भट्टराईले पनि वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताइन् । भट्टराईले कुन पदमा उठ्ने भन्ने टुंगो नलागे पनि चुनावको तयारीमा लागेको जानकारी दिइन् । उद्योग वाणिज्य संघ बिर्तामोड व्यवसायीका समस्या भन्दा पनि स्वागत र विदाईका काममा मात्रै लागेको भट्टराईको गुनासो छ ।
लामो समयदेखि प्रगति पुस्तक भण्डार सञ्चालन गर्दै आएकी भट्टराई सामाजिक कार्यमा पनि परिचित छिन् । भट्टराई महिला उद्यमी संघ झापाको संस्थापक अध्यक्ष, विरता लेडी जेसीजको महासचिव हुँदै हाल नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको उपाध्यक्ष, तारा नमस्ते वालग्रामकी कोषाध्यक्ष पदमा छिन् ।
चर्चामा रहेका यी दुवै नाम अर्जुनकुमार मैनालीको स्वतन्त्र व्यवसायिक प्यानलका उम्मेदवार हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन फागुन १४ गते तय गरिएको छ ।