बिराटनगर ।
सुनसरी र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाँउपालिका–१ लौकही स्थितमा खटिएको प्रहरी टोलीले सोहि स्थानका ३८ बर्षीय सत्य नारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर, Nitravet, Avil, फेनारगन र Noophin गरी जम्मा ४ सय ७२ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेसँगै लागूऔषध बेचबिखानमा संलग्न देश भारत बिहारका २० बर्षीय मो. अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले स.१० प १६१४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक कटारी–८ का २० बर्षीय रुद्र तामाङले झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी Tapentadol Tablets Apendol र Spaspain गरी जम्मा ३८ सय चक्की फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका–१ का २६ बर्षीय योगेन्द्र खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २०मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।