काठमाडौं । 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकारलाई मेलम्ची आयोजनाको काम छिटो गरेर काठमाडौंका जनतालाई खानेपानीको व्यवस्था गर्न आग्रह गरेका छन् । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा सोमबार(आज) ज्ञापनपत्र बुझाउँदै उनले काठमाडौं उपत्यकामा तत्काल पर्याप्त पानी वितरणको माग गरेका छन् । 

काठमाडौंमा दैनिक ४० करोड लिटर पानी आवश्यक रहेकोमा १२ करोड लिटर मात्र वितरण भइरहेको भन्दै उनले मेलम्चीको पानी ल्याउने प्रणाली छिटो बनाएर खानेपानीको व्यवस्था गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले सप्लाइले आवश्यकता पुरा गर्न सक्दैन । ४० करोड लिटर आवश्यक छ, जम्मा वितरण गर्ने क्षमता भनेको १२ करोड लिटरमात्र छ । अनि कसरी काठमाडौंमा बाँच्न सक्छन् ? चाँडोभन्दा चाँडो मेलम्चीको पानीलाई यसमा जोडनुपर्छ । नयाँ सिस्टम ल्याइएको छ तर त्यो अझै जोडिएको छैन । त्यसैले अविलम्ब जोड्नुपर्ने आवश्यक छ । त्यसैले युद्धस्तरमा काम गरेर सरकारले जनतालाई खानेपानीको व्यवस्था गर्न सक्नुपर्छ ।’ 

मेलम्ची आयोजनाको प्रणाली मर्मत भइरहेकाले हाल उपत्यकाको प्रणालीमा सुन्दरीजलहुँदै ल्याउने गरिएको पानी आपूर्ति बन्द छ । पटक पटक मन्त्री र नेताहरु मेलम्ची आयोजनामै पुगे पनि वितरण प्रणालीमा मेलम्चीको पानी आपूर्ति खुलाइएको छैन ।  

नेता खनालले काठमाडौंमा पानीको हाहाकार दिनानुदिन बढ्दै गइरहेको भन्दै आपूर्ति व्यवस्थापनमा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका छन् । 

उनले भने,‘अहिले काठमाडौंमा खानेपानीको हाहाकार बढेको छ । धाराबाट पानी आउँदैन, मानिसलाई दैनिक जीवनमा पानीको संकट बढेको छ । पानी मानिसको जीवन हो, त्यसैले पानीको आपूर्ति गर्ने कुरामा सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिन सक्नुपर्छ ।’