विर्तामोड ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको गैरकानुनी बिक्री वितरण रोक लगाउने भएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको अवैध बिक्री वितरण रोक्ने निर्णय भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए । 

विद्यालय हाताभित्रै पाठ्यपुस्तक को गैह्रकानुनी बिक्री वितरण हुँदा नेपाल सरकारलाई कर तिरेर पुस्तौंदेखि व्यवसाय गर्दै आएका पुस्तक तथा स्टेशनरी व्यवसायी व्यवसायबाटै पलायन बनेको भन्दै यसलाई रोक्न व्यवसायी एक जुट भएका हुन् । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी जिल्ला कार्यसमिति झापाको शनिवार विर्तामोडको बैठकले पाठ्य पुस्तक तथा पाठ्य सामाग्रीको कारोबार पुस्तक तथा स्टेसनरी व्यवसायीबाटै अनिवार्य खरिद विक्री गर्न सम्बद्ध पक्षसँग अनुरोध गर्ने निर्णय भएको छ । 

शिक्षा नियमावली २०५९ को नियम ३७ मा कुनै पनि विद्यालय हाताबाट शैक्षिक सामग्री विक्री वितरण गर्न नपाइने व्यवस्था छ । तर झापाका केही स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यालय सञ्चालक, शिक्षक, कर्मचारीले पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको नियम विपरीत विद्यालयबाटै बिक्री वितरण गर्ने गरेका छन् ।

यस्तै महासंघले गैह्र व्यवसायीलाई पाठ्यपुस्तक तथा शैक्षिक सामाग्रीको विक्रिबितरण गर्न नदिने पनि निर्णय गरेको छ । महासंघको सदस्यता लिएका व्यवसायीले मात्र आगामी शैक्षिकसत्र देखि पाठ्य पुस्तकको बिक्री बितरण गर्न पाईने महासङघ झापाले जनाएको छ ।

महासंघले झापाका १५ वटै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयमा परिपत्र गरि यस्तो गैह्र कानुनी कारोवार नगर्न नगराउन सम्बद्ध पक्षसंग अनुरोध गर्ने निर्णय गरेको महासघले जनाएको छ ।  महासंघ झापाका अध्यक्ष बिनोद सापकोटाको अध्यक्षतामा बैठक भएको थियो ।