बिर्तामोड।
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने भएका छन् । निर्बाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्यमा उम्मेदवारी दिने बताएका छन् । आफु बिर्तामोडमा वर्षौंदेखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै उनले यस क्षेत्रको प्रतिनिधित्व हुने गरि वाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिए।
सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरि काम गर्न सक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गरेका छन् । यसअघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनैपनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।
ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सपोर्ट रहेको बताए। उनले ढुवानी व्यवसायीको प्रतिनिधिका रुपमा खत्रीलाई अघि बढाइएको बताए । व्यवसायी खत्री सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहँदै आएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन मिति घोषणा भएसँगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिब अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा भएपछि चुनावी मैदानमा उत्रिएका छन् । वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुने तय भएको छ ।